पूर्व प्रधानमन्त्री खनालद्वारा पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधनप्रति श्रद्धाञ्जली व्यक्त

IMG

काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले छिमेकी मुलुक भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । मङ्गलवार एक विज्ञप्ति जारी गर्नुहुँदै पूर्व प्रधानमन्त्री खनालले भारतीय राजदूत महामहिम श्री विनय मोहन क्वात्रा मार्फत एक समवेदना सन्देश समेत पठाउनुभएको छ ।

आफ्नो समवेदना सन्देशमा पूर्व प्रधानमन्त्री खनालले भन्नुभएको छ, भारतका पूर्व राष्ट्रपति श्री प्रणव मुखर्जीको निधनको खबर पाउँदा म अत्यन्त दुःखी छु । मुखर्जी नेपालका विशिष्ट मित्र हुनुहुन्थ्यो । भारतको परराष्ट्र मन्त्री लगायतका विभिन्न जिम्मेवारीमा रहँदा मुखर्जीले नेपाल भारतको सम्बन्धका विभिन्न आयाममा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको पनि नेता खनालद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

दुई देशबिचको सम्बन्ध सुदृढ पार्न मुखर्जीको ठुलो योगदान रहेको उल्लेख गर्नुहुँदै नेकपा वरिष्ठ नेता समेत रहनुभएका खनालले मुखर्जी नेपालका एक हित चिन्तक र कुशल मित्र रहेको स्मरण गर्नुभएको छ ।

खनालले भन्नुभएको छ , म दिवङ्गत नेता मुखर्जीप्रति गहिरो श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति गहिरो संवेदना व्यक्त गर्दछु ।


Sources: Radio Nepal

कमेन्ट गर्नुहोस्